एजेन्सी। युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आफ्नो दोस्रो र चेन्नई तेस्रो खेलका लागि मैदान उत्रने छन् । दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुसार पौने ८ बजेबाट सुरु हुनेछ।
श्रेयस आयरको कप्तानीमा मैदान उत्रने दिल्ली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित भएको थियो ।
यता, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई पनि दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो ।
आजको खेलमा दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई समेत मैदान उतार्ने संभवाना रहेको छ । पहिलो खेलमा भने सन्दीपले मौका पाएका थिएनन् ।