‘स्वच्छ पशुपति, सफा पशुपति’ भन्ने नाराका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि सारेको कार्यक्रमले प्रशंसा बटुल्दै गएको छ । पर्यटन मन्त्री सुदन किराँतीको सक्रियतामा सञ्चालित कार्यक्रममा निजी संस्था, समूह र नागरिकलाई समेटेर पाशुपत क्षेत्रको सरसफाई तथा सौन्दर्यतालाई विकास गर्ने कार्य अघि बढेको हो ।
पछिल्लो समय पशुपति क्षेत्रभित्र रहेका ३४ स्थानहरुलाई सौन्दर्यकरण गर्नका लागि मन्त्री किराँतीको अवधारणामा नयाँ अभ्यासको थालनी गरिएको छ । ३४ वटा बगैचा सजावट गर्नका लागि जुनसुकै संस्था, व्यक्ति वा समूहले भाग लिन पाउने भएका छन् । तोकिएको मापदण्ड पूरा गरी जेठ १२ गतेसम्म स्थान छनोट गरिसक्नुपर्ने छ ।
आफूले छनोट गरेको स्थानमा हरियाली, सौन्दर्यकरण, आकर्षक बगैचा निर्माण गर्ने व्यक्ति वा संस्थालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । जेठ १२ गतेसम्म स्थान छनोटपछि पशुपति क्षेत्रका ३४ वटै स्थानमा बगैचा निर्माणमा जुट्नुपर्ने छ । त्यसको १६ हप्तापछि सबैको मेहनत र बगैचाको सुन्दरतालाई हेरी पहिलो, दोस्रो र तेस्रो छुट्याइनेछ ।
पहिलो हुने संस्था वा समूहलाई रु. ३ लाख पुरस्कार, दोस्रो हुनेलाई रु. २ लाख र तेस्रो हुनेलाई रु. १ लाख पुरस्कारको व्यवस्था गरिएको छ । पर्यटन मन्त्री किराँतीले जेठ १२ भित्र स्थान छनोट गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
