काठमाडौं। एकपटक हेरेकै भरमा सम्पुर्ण रोग निको पारिदिने भन्दै सामाजिक सञ्जालमा भाइरल रहेका भरत केसी ‘सिमान्त गुरु’को ‘क्लीनिक’ प्रहरीले बन्द गराएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा रहेको कार्यालय आजबाट बन्द गरिएको हो।
महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड ठुलो र अनियन्त्रित भएपछि सुरक्षाका कारण बन्द गरिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो ‘असाध्यै भिड भएकाले हामीले शान्ति–सुरक्षाका कारण तत्कालका लागि बन्द गर्न निर्देशन दिएका हौँ,उहाँले कम्पनी दर्ता र वडा कार्यालयबाट सिफारिससमेत निकालेर काम गरिरहनु भएको रहेछ। कसैबाट उजुरी परेर बन्द गरेको होइन। जिल्ला प्रशासनसँग समन्वय गरेर काम गर्नुस् भनेका छौं।’
सामाजिक सञ्जालमा सिमान्त गुरु नामले चर्चित झापाका ४३ वर्षीय भरत केसीले दुई साताअघि मात्र तारकेश्वरमा आफ्नो कार्यालय सारेका थिए। त्यसअघि उनको कार्यालय कोटेश्वरमा रहेको थियो।
केसी स्वंमले पनि ठाउँ सानो भएकाले तारकेश्वर सरेको तर,यहाँ पनि समस्या आएको बताएका छन्। केसीले ‘अलौकिक मनोवैज्ञानिक सास्ती ज्योतिषी प्राली’ नामक कम्पनी दर्ता गरेर काम गर्दै आएको डिएसपी कुँवरले बताउनु भयो।