पाल्पा। पाल्पाको रम्भा गाउँपालिका फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोमा परी ६ जना बेपत्ता भएका छन् ।
रम्भा गाउँपालिका वडा नम्बर २ का हुमबहादुर गाहा र मनबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हुमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएकोले उद्धार टोली घटनास्थल गएको छ । मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।
बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । यसैबिच, अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् ।
उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभएको छ ।