काठमाडौं। दार्चुला हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतको बाटो प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइने भएको छ।नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी किरन जोशिले जानकारी दिनुभयो।
गत मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम ल्याउन लागिएको हो।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डीएसपी भट्टले बताउनु भयो। हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरिको टोलीले मङ्गलबारदेखि निरन्तर बेपत्ताको खोजी कार्यमा खटिएको छ। मौसम प्रतिकुलका कारण खोजी कार्यमा समस्या भएको छ। आज अलि मौसममा सुधार भएकोले खोजी तीव्र पारिएको छ।