काठमाडौं । काठमाडौंमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ। रातिको समयमा पनि बदली र वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुनाका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। प्री–मनसुन पनि सक्रिय रहेकाले बदली र वर्षा गराएको मौसमविद् झाले बताउनुभयो।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यता मौसम सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार काठमाडौंको अतिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको छ।