काठमाडौं । केन्द्रीय कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ । सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन जैसवालको मृत्यु भएको हो ।
शनिबार ३ असोजमा उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका ६३ वर्षीय जैसवालको हत्या भएको परिवारको दावी छ । जेल प्रशासनले भने उपचारको क्रममा स्वाभाविक मृत्यु भएको बताएको छ ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएको छ । केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाका अनुसार उनी दीर्घरोगी थिए, स्वास्थ्य समस्या भएपछि शनिवार राति पौने १० बजे अस्पताल लगेका थियौं, भर्ना गरेको करिब २५ मिनेटमा मृत्यु भएको उनले बताए ।
कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन । परिवारले भने हत्या भएको दावी गर्दै छानविनको माग गरेका छन् ।
पूर्व जनप्रतिनिधि समेत रहेका जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा थिए । असोज २२ मा उनी जेलमुक्त हुँदै थिए ।कोरोना संक्रमण भएको भन्दै परिवारलाई शव हेर्न नदिएपछि मंगलबार छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा गई मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उनले भिडियो खिचेकी थिईन् ।
शवको भिडियो बनाएको भन्दै प्रहरीले रश्मिलाई लाठीले हिर्काए उनको हात भाँचिएको छ । अहिले वीर अस्पतालमै उनको हातको उपचार भइरहेको छ । अहिले मृतकको आफन्त गाउँबाट काठमाडौंमा आईसकेका छन् ।