काठमाडौँ । विभिन्न जिल्लाबाट काठमाडौँ आई बसोवास गर्दै आएकाहरुको संभवतः सबैभन्दा पुरानो संस्थाको रुपमा रहेको पाल्पाली संगमले स्थापना दिवसको अवसरमा काठमाडौँमा पाल्पा महोत्सव २०८० आयोजना गर्ने भएको छ ।
यही बैशाख ९ गते शनिबार काठमाडौँ स्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु हुनेगरी एक दिने महोत्सव आयोजना गरिएको संगमका अध्यक्ष विष्णु बहादुर खत्रीले जानकारी दिनुभयो ।
अनौपचारिक रुपमा विक्रम सम्बत् २०३२ सालदेखि नै विभिन्न गतिविधि गर्दै आईरहेको संगम बहुदल आएपछि २०४८ साल बैशाख ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पाल्पाली दर्ता भएको हो । त्यसैले हरेक बर्षको बैशाख ५ लाई संगमले आफ्नो स्थापना दिवसको रुपमा मनाउने गरेको छ ।
स्थापना दिवसको अवसरमा शुभकामना वक्तव्य प्रकाशित गर्दै संगमका महासचिव जीवन भण्डारीले आफ्नो गृह जिल्लाप्रतिको उत्तरदायित्ववोध, लगाव र योगदान गर्न स्थापना दिवसले सबैलाई थप प्रेरणा र दृढता बढाओस् भन्ने कामना गरेका छन् ।
उनले संगमका संस्थापकहरु, स्थापनामा योगदान गर्नुभएका अग्रजहरु, पूर्व पदाधिकारी तथा सदस्यज्युहरु, संगमका विभिन्न कालखण्डका सहयोगी तथा शुभचिन्तकहरु, आजिवन सदस्यहरुप्रति वर्तमान कार्यसमितिका सबै सहयात्रीहरुको तर्फबाट आभार पनि व्यक्त गरेका छन् । संगम अहिले काठमाडौमा मात्रै सिमित नरही संगमको प्रेरणाले विभिन्न जिल्ला तथा देशहरुमा पनि पाल्पालीहरु संगठित भएको वक्तव्यमा उल्लेख छ ।
संगमले स्थापनाकालदेखि जिल्लाको विकास निर्माणमा अवधारणागत, नीतिगत, आर्थिक तथा भौतिक योगदान गर्दै आएको छ भने देश विदेशमा रहेका पाल्पालीहरुलाई पनि अपनत्व, अविभावकत्व, भावनात्मक र आर्थिक तथा भौतिक सहयोग गर्दै आएको महासचिव भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार संगमले विभिन्न अक्षयकोष मार्फत हरेक बर्ष प्रोत्साहन तथा राहत पनि दिने गरेको छ ।
पाल्पाको छवि निर्माण र प्रबद्र्धनका लागि विभिन्न गतिविधि गर्ने सिलसिलामा काठमाडौँमा महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । महोत्सवमा पाल्पाको स्थानीय कला संस्कृति झल्काउने कौरा तथा सोरठी नाच, खेली तथा चुट्कासँगै पाल्पाली कलाकारहरुको प्रस्तुती, रक्तदान, निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण, चुकाउनी, बटुकलगायतका पाल्पाली परिकार, ढाका तथा करुवा लगायतका पाल्पाली घरेलु उत्पादन, पाल्पासम्वन्धी फोटो, भिडियो र पुस्तक प्रदर्शन तथा विक्रि वितरण गरिने महासचिव भण्डारीले जानकारी दिए ।