रोल्पा । रोल्पामा ठुलो मात्रामा उत्पादन गरिएको अफिम खेती प्रहरीको टोलीले नष्ट गरेको छ। जिल्लाको परिवर्तन गाउँपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सुराकी समेत प्रयोग गरी जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार र मंगलबार सम्बन्धित ठाउँमै पुगेर सबै अफिम नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाबाट चैत २७ गते प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ३८ जनाको प्रहरी टोली खटिई परिवर्तन गाउँपालिका,वडा नं.४ पाछाबाङको खोलागाउँ, तारल, वसुन्धराका करिब २० रोपनी क्षेत्रफलको पाखोबारीमा लगाएको करिब १८ हजार बोट अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
साथै चैत २८ गते प्रहरी निरीक्षकको नेतृत्वमा ३० जनाको टोलीले सोही गाउँपालिका वडा नं.४ को जैरेनी, तातापानी भन्ने स्थानको पाखोबारी र अर्को गाउँपालिका वडा नं.५ राङकोटको बजेनी भन्ने स्थानको जंगलबीचमा रहेको जमिनको करिब ८ रोपनीमा लगाएको अफिम ७ हजार ५ सय बोट अवैध अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्याम कुमार सारू मगरले जानकारी दिनु भएको छ। चैत २७ र २८ गते गरी करिब २८ रोपनी पाखोबारीमा उत्पादन गरिएको २५ हजार ५ सय बोट अफिम नष्ट गरिएको छ ।