काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उहाँको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नु भएकी ताम्राकार निडर र हक्की स्वभावकी हुनुहुन्थ्यो।काभ्रेको बनेपामा जन्मनुभएकी ताम्राकारले लामो समयसम्म रेडियो नेपालमा काम गर्नु भएको थियो भने उहाँको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ ।
रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवम् समाचार वाचिका, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकार २०१८ सालमा रेडियो नेपाल प्रवेश गर्नुभएको थियो । उहाँले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।