काठमाडौं । झन्डै ६ महीनादेखि लकडाउन र निषेधाज्ञाले ठप्प रहेको मुलुकको आन्तरिक उडान सोमवार (आज) बाट शुरू हुँदै छ ।
सामान्य अवस्थाको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न पाइने सरकारको निर्णयअनुरूप नै निजी वायुसेवा कम्पनीहरूले नियमित उडानको सम्पूर्ण तयारी पूरा गरेको बताएका छन् ।
आजदेखि उडान शुरू हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्सले गत शुक्रवारदेखि नै बुकिङ खुला गरेका थिए ।
अहिलेसम्म ७० देखि ७५ प्रतिशत सीट बुकिङ भइसकेको यी विमान कम्पनीहरूले बताएका छन् । श्री एयरलाइन्सले भने १ र २ दिनपछि मात्रै बुकिङ खुला गर्ने कम्पनीका प्रबन्धक अनिल मानन्धरले बताउनुभएको छ ।
बुद्ध एअरका अनुसार आइतवार साँझसम्म ७० प्रतिशत बुकिङ भइसकेको छ । बुद्ध एयरले सोमवारका लागि १७ ओटा उडान पाएको र सबै सेक्टरमा ७० प्रतिशत प्यासेन्जर अक्युपेन्सी रहेको यसका प्रबन्धक रूपेश श्रेष्ठले जानकारी दिनुुभयो ।
त्यस्तै यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार कम्पनीले उडानको सम्पूर्ण तयारी पूरा गरिसकेको तथा आइतवार साँझसम्म ७० प्रतिशतसम्म बुकिङ भइसकेको छ । नेपाल वायुसेवा निगमले पनि आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । निगमले मुलुकका देशका विभिन्न १० ओटा गनतव्यमा आन्तरिक तर्फको उडान गर्ने गरी तालिका सार्वजनिक गरेका हो ।
सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पु¥याइ सेवा सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।
कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध गरिएको छ । विमानस्थलमा यात्रुको दोहरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दूरी, विमान चढ्नुअगावै ह्यान्ड स्यानिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ । वायुसेवा कम्पनीहरूले पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाई भाडा भने नबढ्ने भएको छ ।