काठमाडौं । काठमाडौं उपत्यकामा होली मनाउने नाममा लापरवाहिपूर्वक तरिकाले चलाएका १ सय ५७ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा १ सय ५७ सवारी–साधान होल्ड गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले होल्ड गरेको मध्ये १३ वटा चारपांग्रे सवारी छन् । होल्ड गरिएका सवारी साधन साँझ ७ बजेमात्र जिम्मा लगाएने एसपी काफ्लेले बताउनुभयो । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन र लागुऔषध सेवन गरेकोबारे चेकजाँच गरिरहेको छ । ६८ ठाउँमा ट्राफिक चेकिङ भइरहेको छ ।
ललितपुरको पुल्चोक, जावलाखेल र सातदोबाटोमा १५ वटा मोटरसाइकल होल्ड गरिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो। मोटरसाइकलमा दुईजना चढने, हेल्मेट नलगाएका र मापसे गरेकाहरुलाई होल्ड गरिएको एसएसपी शाहले बताउनुभयो।
फागु पुर्णिमाको अवसरमा चेकजाँच गर्न उपत्यकामा ६०४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।