काठमाडौं । आज काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो ।
मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय निरन्तर वर्षा नभएर हल्का वर्षाको सम्भावना मात्रै छ । ‘पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने देखिन्छ’, उहाँले भन्नुभयो, ‘यो निरन्तर हुने अवस्था छैन । छिटपुट रुपमा कतै हुने र कतै नहुने देखिन्छ ।’
‘अहिले नै साँखुलगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौं अरू ठाउँमा पनि छिटपुट वर्षा हुने सम्भावना छ,’ उहाँले भन्नुभयो, ‘यो काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो।’
पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ। पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ।
प्रि—मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद् कँडेलले आग्रह गर्नुभयो। केही घण्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो।
लामो समयसम्म काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको थिएन । हिँउदो समयमा समेत वर्षा नहुँदा किसान मर्कामा परेका छन् ।