काठमाडौं । सन्दीप लामिछानेलाई विदेश जान दिनुपर्ने निवेदनबारे पहिला हेर्नुपर्ने मागलाई सर्वोच्च अदालतको संयुक्त इजलासले अस्वीकार गरेको छ ।
नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको छ ।
यो मुद्दाको बन्द इजलासमा सुनुवाइ भइरहेको छ । एक कानुन व्यवसायीका अनुसार सुरुमा सन्दीपका वकिलहरुले विदेश जाने अनुमतिबारे पहिले सुनुवाइ गर्न माग गरेका थिए ।
त्यसपछि महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले बहस गरेका छन् । उच्च अदालतको धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने उनीहरुले माग गरेका छन्।