काठमाडौं । खाना पकाउने (एलपी) ग्यास लिक हुँदा भएको आगलागीमा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको कृत्रिम अक्सिजन हटाउने तयारी गरिएको छ ।
भण्डारीलाई शुक्रबारदेखि नै नलीमार्फत खाना खुवाउन सुरु गरिएको थियो । उपचारको नेतृत्व गरिरहेका डा. मुकेश मिश्राका अनुसार सोमबार(आज)देखि भण्डारीलाई प्राकृतिक रुपमा नै श्वासप्रश्वासको ट्रायलमा लैजाने योजना छ ।
यसअघि शतप्रतिशत कृत्रिम अक्सिजनको सहारामा रहेकामा हिजोदेखि कृत्रिम अक्सिजनको मात्रा घटाउँदै गरिएको थियो । कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएमा आजदेखि कृत्रिम अक्सिजनलाई शून्य प्रतिशतमा झार्न लागिएको हो ।
हिजो उहाँको छातीको फिँजियो थेरापी गरिएको थियो । शनिबार बिहान डिहाइड्रेसनका कारण पिसाब कम भएको र प्लेटलेस एक लाखमा झरेकोमा शनिबार साँझसम्म तरल मात्रा बढाउँदा डिहाइड्रेसनको अवस्था सामान्य रहेको बताइएको छ ।
भण्डारीको अनुहारमा डढेको कालो छाला झरी नयाँ पलाउन लागेकोजस्तो पनि देखिएको बताइएको छ ।