काठमाडौं । आज महाशिवरात्रि पर्व, काठमाडौंस्थित पाशुपत क्षेत्रलगायतका मुलुकका विभिन्न शिवालयमा उल्लासमय ढंगले मनाइँदै छ । शिवरात्री अर्थात् कालरात्री आज रातभर जागराम बसी शिवतत्व प्राप्तिमा भक्तजनहरु लीन हुने गर्दछन् । शिवको महिमामा ठेस पुग्ने खाले गतिविधिहरु पनि भक्तजनहरुबाट भएको पाइन्छ ।
कतिपय मानिसहरू शिवरात्रिमा शिवजीको प्रसाद भनेर गाँजा, भाङ आदि लागूपदार्थ खान्छन्, खान पाउने तर्क गर्छन्, यसैलाई धर्म मान्दछन् र गाँजको धुवाँ उडाएर आँखा लट्ठ पारी आनन्द लिन्छन् । अर्काथरी मानिस लागूपदार्थ खाने विषयलाई धर्मसँग जोड्छन् र धर्ममा विकृति देख्न पुग्छन् र धर्मलाई नै गलत ठह¥याउने ठोकुवा गर्दछन् । वास्तवमा यी दुवै कुरा सही होइनन् ।
शिवले त संसारको हितको लागि कालकूट विष नै बमन गरेको र कण्ठमा अड्याएर नीलकण्ठ बनेको कथा प्रसिद्ध छ । यो कथालाई मात्र राम्ररी पढेर सकारात्मक अर्थमा लिने हो भने भिन्नै तथ्य उजागर हुन्छ । संस्कृतिविद् बिना पौडेलका अनुसार शिवले जगतको रक्षाका निम्ति कालकुट विष बमन गरेका थिए ।
‘शिव’ भनेको वैदिक देवता हुन् र शिव शब्दको अर्थ कल्याण वा कल्याणकारी भन्ने हुन्छ । ‘रात्रि’ भनेको रात हो । रात अन्धकारको प्रतीक हो । सनातनी र शैवहरूका लागि शिवरात्रि निकै ठूलो पर्व हो, त्यसैले यसलाई महापर्व पनि भन्ने गरिएको छ । हिन्दू सनातनी र शैवहरू यस दिन बेलको फल, पात, रुद्राक्ष आदि शिवलाई समर्पण गर्ने—चढाउने गर्दछन् । यस महापर्व शिवरात्रिमा भाङ, धतुरो, गाँजा आदि लागू पदार्थ शिवलाई समर्पण गरिन्छ । शिवले आफ्नो शरिरको ढाहा मेटाउनलाई भाङ, धतुरो, गाँजा लिएको संस्कृतिविद् पौडेलको तर्क छ ।
पुराणमासमेत प्रसिद्ध वैदिक देवता हुन् शिव । २४ हजार श्लोक भएको शिवमहापुराण नै छ । शिवलाई कल्याणस्वरूप मानिएको छ । शिव कल्याणका—कल्याणकारी देवता हुन् । संसारले जतिजति भौतिक प्रगति गरेको छ, यो मानवजीवनको सहजता र सुविधाको लागि साह्रै महत्वपूर्ण छ, आविष्कार र आविष्कारकहरू महान् छन् ।
मानिस अनेकौँ पाशहरू र तिनको बन्धनमा बाँधिएको छ । पशुपति नामले पाशबद्धताबाट मुक्ति भन्ने जनाउँछ । हाम्रो नेपालमा नै पशुपतिनाथको मन्दिर हुनु हामी सबैका लागि गौरवको विषय हो । अनेकौँ विभेद तथा पाशयुक्त जीवनबाट मुक्त भई जीवनलाई सहज बनाउन पाशुपत दर्शन अध्ययन तथा अनुपालन गर्न आवश्यक छ ।