काठमाडौं। नेपाली सेनाले आज मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६० औं स्थापना दिवस मनाउँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने बताइएको छ ।
हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ ।आज सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै, भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।
सेना दिवसकै अवसरमा ‘वर्ल्ड बुक अफ रेकर्ड’मा नाम लेखाउने गरी पहिलो पटक टुँडिखेलमा ५५५ जनाले मादलको प्रस्तुति दिनेछन् । विश्वका शान्ति कायम गर्ने सिलसिलामा ७२ नेपाली शान्ति सैनिकको बलिदानी भइसकेको छ भने ६६ सैनिक घाइते भएका छन् ।
विश्वमा हाल खडा भएका १३ शान्ति मिसनमा पाँच सय ४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ ।