काठमाडौं । फागुन १ गते काठमाडौंको बालाजु, माछापोखरीमा प्रहरी भ्यानमा भएको आगजनी तथा ल्होत्से मल तोडफोड गरी मोबाइल पसलमा चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप १० जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौंका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सार्वजनिक यातायातका मजदुर (चालक र सहचालक), व्यापारी, विद्यार्थी र दैनिक मजदुरी गर्ने व्यक्ति छन्।
प्रहरीले सार्वजनिक यातायातमा सहचालकको रुपमा काम गर्ने काभ्रेको पाँचखाल घर भएमा १९ वर्षीय सुरज मगर ताप्ले, नुवाकोटको सुर्यगढी–४ घर भएका १९ वर्षीय केशर राई, सिन्धुलीको सिन्धुलीगढी–६ घर भएका १८ वर्षीय इन्द्र तामाङ, उदयपुरको उदयपुरगढी–६ घर भएका २७ वर्षीय राजन राउत र नीलकण्ठ–६, धादिङ घर भएका १८ वर्षीय विकास गुरुङलाई पक्राउ गरेको छ। यस्तै, सवारी चालक धादिङको नीलकण्ठ–६ घर भएका २६ वर्षीय इलाराम गुरुङ र काभ्रेको नमोबुद्ध घर भएका २८ वर्षीय हरिशरण तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने अन्यमा ज्याला मजदुरी गर्ने उदयपुरको चौदण्डी–५ घर भएका ३० वर्षीय रितेश बस्नेत, बेलबारी–४ मोरङ घर भएका ३० वर्षीय यमन राई, होटेलमा वेटरको काम गर्ने काठमाडौंको सामाखुसी घर भएका १९ वर्षीय कविन खड्गी तथा कलेजमा अध्ययन गर्ने नुवाकोटको ककनी–८ घर भएका १८ वर्षीय सुनिल कालिकोटे, ककनी–७ सुदिप तामाङ र व्यापार व्यवसाय गर्ने काठमाडौंको माछापोखरी घर भएका ३३ वर्षीय माधव शाही छन्।
पक्राउ परेकामध्ये केही व्यक्ति यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेका पाइएको छ। पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजु र महाराजगञ्ज पठाइएको छ।
बालाजु घटनामा संलग्न रहेकामध्ये मोबाइल पसलमा लुटपाट गरेको आरोपमा प्रहरीले यसअघि पनि ४ जनालाई पक्राउ गरेको छ। यस्तै, प्रहरीको गाडीमा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।