काठमाडौं । रेडियो अध्येता डा. भूमि चापागाईँले स्थानीय मुद्दा उठान र दोहोरो अन्तरक्रियाका कारण रेडियोको सान्दर्भिकता रहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘आज विश्व रेडियो दिवस हो । रेडियो भनेको स्थानीय माध्यम हो । स्थानीय सूचना प्रवाहका लागि यो निकै प्रभावकारी छ । अरू माध्यमलाई छायामा पारेजस्तो लागे पनि फेसबुक सञ्चारमाध्यम होइन । कम स्रोत र थोरै तयारीमा रेडियोजस्तो दोहोरो अन्तरक्रिया हुने माध्यम अरू छैनन् । अझै पनि रेडियोको सान्दर्भिकता छ,।’
डा. चापागाईँले रेडियोका श्रोता कहिले पनि स्थिर नहुने औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले धेरैथरी मिडिया छन् । मिडिया कम्युनिटीमा नयाँ भेहिकल आउँदा प्यासेन्जर बाँडिनु स्वाभाविक हो । रेडियोका श्रोता स्थिर छैनन् । भूकम्पका बेला ह्वात्तै बढेको थियो । कोरोनाका बेला रेडियोबाटै आवश्यक प्राप्त हुन्थ्यो । निर्वाचनका बेला पनि त्यो बढ्छ । अरू बेला सामान्य हुन सक्छ ।’
राज्यले रेडियोप्रति उदार भएर नीतिगत स्पष्टता ल्याउनुपर्ने उहाँको धारणा छ । डा. चापागाईँले सञ्चार मन्त्रालयले २०५४ सालयता ७४० वटा रेडियो लाइसेन्स बाँडेको र राष्ट्रिय प्रसारण ऐनले तीन किसिमका रेडियो बनाउने व्याख्या गरेको भएपनि त्यसलाई नियमन गर्ने कुरामा अन्योल नै रहेको बताउनुभयो ।
साप्ताहिक पत्रिकालाई सरकारले लोककल्याणकारी सूचना र सन्देश प्रकाशन गरेबापत महिनैपिच्छे सहयोग गर्ने तर रेडियोलाई वर्षको एकचोटि न्यून सहयोग मात्र दिने गरेको उहाँको भनाई छ । नीतिगत स्पष्टता बनाउँदै राज्य रेडियोप्रति उदार हुनुपर्नेमा उहाँको जोड छ ।