काठमाडौं। निर्मला पन्तको हत्यामा संलग्न आशङ्कामा सङ्कलन गरिएका ३ जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मलाको हत्यामा संलग्न आशङ्कामा केन्द्रीय अनुसन्धान ब्युरोले ५ जनाको रगतको नमुना सङ्कलन गरेको थियो।
सङ्कलित नमुना परीक्षण गर्दा ३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको र २ जनाको परिक्षण हुन बाँकी छ। डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिकसहित ५ जनाको रगतको स्याम्पल सङ्कलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो।
ब्युरो स्रोतका अनुसार भारतीय नागरिक मोहम्मद इस्लाम नामका दुईजना र एकजना भीमदत्त नगरपालिकाका स्थानीयको रिपोर्ट नेगेटिभ आएको हो। प्रहरीले २०७९ पुस २० मा भारतको पिल्भीथबाट मोहम्मद इस्लाम नामका दुई जना भारतीयको रगतको नमुना सङ्कलन गरेर काठमाडौँ ल्याएको थियो ।
कञ्चनपुरकी १३ बर्सिया निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो। निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १२३ जनाको डीएनए जाँच गरेको छ। तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ ।