Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

स्वस्थानी व्रतकथा आज विधिपूर्वक समापन गरिँदै

स्वस्थानी व्रतकथा आज विधिपूर्वक समापन गरिँदै

  • आइतवार, माघ २२ २०७९

  • 284
    SHARES

  • स्वस्थानी व्रतकथा आज विधिपूर्वक समापन गरिँदै

    काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ।

    पौष शुक्ल पूर्णिमाका दिनदेखि स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्। सोही दिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ।

    विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिने गर्दछन्।

    चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई, मीत छोरा पनि नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा बगाउने गरिन्छ।

    सय रोटी वर्तालुले फलाहार गरी रातमा जागराम बस्दछन्। जागरामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो।

    सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवी स्वस्थानी हुन्। स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा हुन्छ भनी व्रतकथामा उल्लेख छ।

    यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ। रोग, व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथामा उल्लेख गरिएको छ।

    सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको स्वस्थानी कथामा उल्लेख छ।


    आइतवार, माघ २२ २०७९०१:३१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij