काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको ठहर गर्दै दुई जना प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
पर्सा क्षेत्र नम्बर ३(१) का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५९२० का प्रदेश सांसद श्याम खड्का र सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालविरुद्ध वन्यजन्तुको अवैध चोरी सिकारीमा मतियारको रुपमा काम गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको पर्साका वार्डेन अशोक रामले बताउनुभयो। सांसद जयवाल स्वतन्त्रबाट निर्वाचित हुने भने खड्का नेपाली कांग्रेसका निर्वाचित सांसद हुन् । पूर्वगाउँपालिका अध्यक्ष जयसवाल जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध छन् ।
उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय हुने उहाँले बताउनुभयो ।
उनीहरूलाई निकुञ्जले वन्यजन्तुको अवैध चोरी सिकारीका लागि मतियारको रुपमा काम गरेको ठहर गरेको हो । वार्डेन रामका अनुसार उनीहरूलाई कसुरदारलाई लाग्ने सजायको आधा हुनेछ । कसुरदारलाई ५० हजार कैद र एक वर्षसम्मको जरिवाना हुने व्यवस्था छ ।
यस्तै, सांसद खड्काको हकमा निकुञ्ज कार्यालय आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको निकुञ्जले निष्कर्ष निकालेको छ । उनलाई निकुञ्जले हातहतियार खरखजना ऐन,२०१९ बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर समेत पठाएको छ ।
पक्राउ परेका प्रतिवादीहरू झापसदास थारु, नवराज बस्ने, शिल सहनी, दामोदर अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलम मियाँ अन्सारी, भोलाबहादुर थापा पुन मगरलाई भने सो ऐनको दफा २६(३) बमोजिम सजाय हुने निर्णय भएको छ ।