काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक कृष्ण पौडेलले राष्ट्रिय परिचयपत्र अभियान उत्साहका साथ अघि बढेको बताउनुभएको छ । नागरिकमा जनचेतनाको अभिवृद्धि भएसँगै यो अभियानले थप तीब्रता पाएको उहाँको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम छलफल चौतारीमा कुरा गर्दै निर्देशक पौडेलले यो अभियानलाई महत्वका साथ अघि बढाइएको पनि उल्लेख गर्नुभयो । राहदानी लिँदा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएकोमा आगामी दिनमा यसलाई थप फराकिलो बनाइनुपर्ने उहाँको धारणा छ । यो परिचयपत्र लिँदा प्राप्त हुने दश अंकको नम्बरले कुनैपनि नागरिकको वैयक्तिक र जैविक विवरणलाई सुरक्षितका साथ राख्न सकिने पौडेलको भनाइ छ ।
पौडेलले भन्नुभयो, ‘अरु धेरै कागजात बोक्नु परेन, कागजात हराउने डर पनि नहुने हुँदा यो प्रणाली निकै महत्वको छ । जनतामा बिस्तारै यसको उपयोगिताबारे जानकारी भइरहेको छ, सबै आवद्ध हुनेछन् ।’
निर्देशक पौडेलले हालसम्म १ करोड ७ लाख २९ हजार २ सय ५६ जनाले राष्ट्रिय परिचयपत्र लिइसकेको जानकारी दिनुभयो । जसमा अभियान मार्फत् ८१ लाख ५३ हजार ८ सय ९६ जनाले र २५ लाख ७५ हजार ३ सय ६० जनाले इकाईमार्फत् परिचयपत्र लिएको उहाँको भनाइ छ । पुस महिनामा मात्रै ४ लाख ३६ हजार १ सय १९ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् । जसमा अभियानमार्फत् २ लाख ७६ हजार २ सय ५७ जना र इकाईमार्फत् १ लाख ५९ हजार ८ सय ६२ जनाले परिचयपत्र लिएका छन् ।
पाँचथरबाट शुरु भएको यो अभियान हालसम्म ४५ जिल्लामा सम्पन्न भइसकेको छ भने १६ जिल्लामा सञ्चालनमा रहेको छ । मोरङ, कपिलवस्तु, मुस्ताङ, काठमाडौं, बझाङ, दाङ, सिरहा, धनुषा, घादिङ, बाँके, रामेछाप, बारा, पर्सा, रौतहट, महोत्तरी र लमजुङमा अभियान जारी रहेको निर्देशक पौडेलले जानकारी दिनुभयो ।
सरकारले पनि यो अभियानलाई महत्वका साथ अघि सारेकोले सबै नागरिकहरुले तोकिएको समयभित्र आवद्ध हुन निर्देशक पौडेलको अपिल छ ।