काठमाडौं ।कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका झापाका निराकार पाण्डेको शव घर पुराईएको छ । गएराति काठमाडौं ल्याईएको पाण्डेको शव झापाको विर्तामोड नगरपालिका–१स्थित निवासमा पुराईएको हो ।
गत पुस १४ गते राति कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको भीषण आगलागीमा परेपछि ज्यान बचाउन १२ औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो।
उनको शव आज दिउँसो १२ः३० बजेतिर विर्तामोडस्थित निवासमा पुर्याइएको हो। युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो। पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ।
घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताउनुभएको थियो । पाण्डेको आजै कनकाइ माईमा अन्त्येष्टि गरिने जनाइएको छ।