Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिन सडक थप एक महिना बन्द हुने

नारायणगढ–मुग्लिन सडक थप एक महिना बन्द हुने

  • बुधवार, माघ ४ २०७९

  • 416
    SHARES

  • नारायणगढ–मुग्लिन सडक थप एक महिना बन्द हुने
    काठमाडौं । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो ।
     
    गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम भएको थियो। माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको हो ।
     
    जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो ।
     
    सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ ।
     
    निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णयअनुसार माघको ४ गते ३० दिन पुग्छ । पुसको ३० गते र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी रोकिएको छैन ।
     
    उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी छ ।
     
    तुइनको दायाँपट्टीको भित्तो ३० प्रतिशत मात्र काटिएको छ, भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुइनको भित्तो ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको हो ।
     
    काम गर्न बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उनले बताए । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलसँगै काम थालिएका नौ वटा पुल बनिसकेका छन् ।
     
    यसअघि नै सो सडकका पाँच वटा पुल बनिसकेका थिए । पाँच पुल निर्माणाधीन छन् । एउटा पुलको जगमा ६  घर टहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको उनले बताए। विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान छ ।
     
    यस्तै अन्य पुल रहेका ठाउँमा २० घर टहरा रहेका छन् । ती हटाउन एक करोड रुपैयाँ हाराहारी राहत दिनुपर्ने हुन्छ । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो ।
     
    सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौताअनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।
     
    सो सडकको चौडाइ ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ।


    बुधवार, माघ ४ २०७९०२:४४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij