काठमाडौं । देशका सातै प्रदेशमा मुख्यमन्त्री फेरीएर नयाँ सरकार गठन हुन थालेसँगै प्रदेशका प्रहरी प्रमुखहरु पनि फेरबदल भएका छन्। जसअनुसार नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको काज सरुवा भएको छ।
आज भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाउनुभएको छ ।मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आउनुभएको छ ।
यस्तै कर्णाली प्रदेशका पोषराज पोख्रेललाई प्रहरी महानिरीक्षकको सचिवालय तानेर भीमप्रसाद ढकाललाइ कर्णाली प्रदेश पठाइएको छ ।प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएको छ भने अशोक सिंहलाइ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मेवारी तोकिएको छ ।
यस्तै प्रहरी प्रवक्तासमेत रहनुभएका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाउनुभएको छ भने गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङलाइ तोकिएको छ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा रहनुभएका श्यामलाल ज्ञवाली प्रदेश १ प्रहरी कार्यालय, विराटनगर पुग्नुभएको छ। विमानस्थलमा भने किरण राणालाई तोकिएको छ । उता विशेष ब्यूरोमा सुदीप गिरी लाइ पठाईएको छ ।