बाढीको समयमा स्थानीयबासीहरुलाई कसरी उद्धार गरेर सुरक्षित ठाउँमा लग्ने विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नो मातहतका प्रहरीको लागि तालिम दिन शुरुवात गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले तराईमा बाढी आउने मौसम शुरु भइसकेकाले त्यसको पूर्वतयारीको लागि मातहतका प्रहरीहरुलाई तालिम दिन शुरु गरेको बताउनुभयो ।
सदरमुकाम जलेश्वरको बजारमा रहेको बरुण सरमा दैनिक ३० जना प्रहरीहरुलाई यस तालिममा समावेश गरिएको बताउनुहुँदै पौडी खेल्न आउने सम्पूर्ण प्रहरीहरुलाई यसमा समावेश गरिने प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो । तालिममा डुङ्गा कसरी चलाउने, पल्टाउने तथा दिशा कसरी बदल्नेसहित उद्धार गरेर सुरक्षित ठाउँमा लग्नसम्मको क्रियाकलाप संलग्न रहेको जानकारी दिनुहुँदै प्रहरी नायव उपरीक्षक विष्टले भन्नुभयो,‘तराईका धेरै प्रहरीहरुलाई पौडी खेल्न आउने गरेको छ तथा पौडी खेल्न नआउनेहरुलाई अन्य कार्यमा समावेश गरिने गरि तालिम दिईंदै छ ।’
दुई दिने सो तालिममा एउटा गु्रपमा ३० जना राखेर तालिम दिइरहेको बताउनुहुँदै उहाँले केही दिन अघि सिरहाको बन्दीपुरस्थित बाबातालबाट तालिम लिएर आउनुभएका प्रशिक्षकहरुद्वारा सबैलाई प्रशिक्षण दिइरहेको बताउनुभयो ।’
उहाँले हामीसँग भएको श्रोत साधनलाई अधिकतम प्रयोग गर्ने गरी तालिम दिइरहेको बताउनुहुँदै बाढीबाट उद्धारको लागि अझै सामग्रीहरुको आवश्यकता रहेको बताउनुभयो । बोट एउटा मात्रै हामीसँग छ भने अरु नेपाली सेनासँग रहेको जानकारी दिनुहुँदै उहाँले डुङ्गाको आवश्यकता अझै रहेको बताउनुभयो ।