काठमाडौं ।कम्बोडियाको क्यासिनोमा भएको आगलागीमा एक नेपाली युवाको पनि ज्यान गएको छ। कम्बोडियास्थित पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आगलागी हुँदा झापाका ४० वर्षीय निराकर पाण्डेको ज्यान गएको हो ।
आगलागीमा पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने कम्तिमा ६० जना घाइते भएका छन्। बिर्तामोड नगरपालिका १ निवासी पाण्डे होटेलमा बसिरहेको अबस्थामा अकस्मात आगलागी हुँदा त्यही फसेका थिए।घण्टौँसम्म आगो नियन्त्रणमा नआउँदा उनले आफूलाई बचाइदिन भिडियोमार्फत अनुरोधसमेत गरेका थिए।
उनले होटेलबाट बाहिर निस्किने सबै ढोकाहरू बन्द भएको र अब बाच्ने कुनै सम्भावना नभएको भन्दै घरका परिवारजन र साथीभाइसँग भिडियो कलमार्फत कुराकानीसमेत गरेका थिए। अन्तीममा उनले आफूलाई बचाउन होटेलको १२ तलाबाट हाम फालेका थिए।