काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले गृहमन्त्रालयसँग सहयोग मागेको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र नै पठाएर सहयोग गर्न अनुरोध गर्नुभएको हो ।
महानगरले थापाथलीस्थित बाग्मती नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक पटक प्रयास गरेपनि अहिलेसम्मको प्रयास सफल हुन नसकेकोले मन्त्रालयको सहयोग आवश्यक परेको बताएको छ ।
अतिक्रमित क्षेत्रमध्ये थापाथलीस्थित नदी किनारमा अव्यवस्थित र अनाधिकृत रूपमा रहेका संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजनाबाट समेत अनुरोध भई आएपनि आफुहरुले चालेको प्रयास सफल हुन नसकेको महानगरको निष्कर्ष छ।
यसअघि महानगरले थापाथलीको अनधिकृत बस्ती हटाउन खोज्दा महानगर प्रहरी र सुकुम्बासीबीच झडप भएको थियो। झडपमा २ दर्जन बढी महानगर प्रहरी घाईते समेत बनेका थिए ।