काठमाडौं । पछिल्लो पटक नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको हो । भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भदौ १६ गते कोरोना अस्पतालमा भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार भइरहेका उनको गएराति साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुभयो । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ ।
यस्तै, भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा बिहीबार राति उनको मृत्यु भएको थियो ।
मृत्यु पछि गरिएको नमुना परीक्षणमा उनमा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । अन्य दुईजनाको भने नतिजा नेगेटिभ आएको छ ।