काठमाडौं । आज क्रिसमस डे, क्रिश्चियन धर्मावलम्बीले धुमधामका साथ मनाउँदै छन् । क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना सन्देशमार्फत् चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।