काठमाडौं।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं केन्द्रीय महाधिवेशन आगामी फागुनमा हुने भएको छ । आज बसेको विशेष बैठकले महाधिवेशन आगामी फागुन १२, १३, र १४ गते धादिङमा गर्ने निर्णय गरेको हो ।
सातौँ महाधिवेशन पोखरामा सम्पन्न गरेको प्रतिष्ठानले आठौँ महाधिवेशन धादिङ सदरमुकाम धादिङ वेशीमा गर्ने निर्णय गरेको प्रचार प्रसार समिति संयोजक अमृत अधिकारीले जानकारी दिनुभयो ।
यस्तै बैठकले माघको ६ र ७ सात गते चितवनको सौराहामा नव निर्वाचित जिल्ला, समन्वय, विदेश तथा प्रदेश शाखाका अध्यक्षहरुलाई वधाई तथा संस्थागत प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
यस्तै आज बसेको बैठकले प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङलाई सम्मान स्वरुप मासिक पाँच हजार (५०००) रुपैया संस्थागत सेवा भत्ता आजिवन प्रदान गर्ने निर्णय गरेको अधिकारीले जानकारी दिनुभयो ।
बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरु समेत गठन गरेको छ। समितिहरुमा अध्यक्ष,संयोजक तोकेर काम बाँडफाँड गरी महाधिवेशन भव्य, सभ्य र व्यवस्थीत बनाउने तयारी थालिएको अधिकारीले जानकारी दिनुभयो ।