धरान उपमहानगरपाललिकामा आज (शुक्रबार) थप २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय धरानका चार प्रहरी, पाँच थुनुवा र अन्य विभिन्न वडाका बासिन्दालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव निरीक्षक, तीनजना प्रहरी जवान र पाँचजना थुनुवालाई लाई कोरोना पुष्टि भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले बताउनुभयो । उहाँका अनुसार लागुऔषध मुद्धामा पक्राउ परेका २४,२९,३४ र जबरजस्ती करणी मुद्धामा पक्राउ परेका ४६ र ३५ वर्षका थुनुवामा पनि कोरोना पुष्टि भएको छ।
यस्तै धरान १५ का ४३ वर्षीय पुरुष, धरान ४ का ३० वर्षीय पुरुष, धरान ११ की ४४ वर्षीया महिला, धरान ६ की २७ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थय शाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो। धरान १३ का ४३ वर्षीय पुरुष, धरान १९ का २९ वर्षीय पुरुष र उनकी २४ वर्षीय श्रीमतीलाई पनि कोरोना पुष्टि भएको मेहताले बताउनुभयो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कर्मचारीलाई समेत कोरोना पुष्टि भएको छ। धरानमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ११ पुगेको छ।