नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। ललितपुर विराटनगर चितवन र बुटबलमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा मृत्यु भएको छ। उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत रहेको अस्पतालले जनाएको छ।
यस्तै, विराटनगरमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारमा लागि पुर्याएको आधा घण्टा नपुग्दै एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको हो। विराटनगर महानगरपालिका–१९ मिलनचोककी ४० वर्षीया महिलाको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताउनु भएको छ ।
यसैबीच, चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला रहेकी छन्।
दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते दिउँसो उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो। मृत्युपछि गरिएको पिसिआर परिक्षणको आज बिहान आएको नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
यस्तै नवलपरासी पश्चिमका एकजना कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु भएको छ।
बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो। भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत अवस्थामा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो।