Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

भूतपूर्व गोर्खा र बेलायती रक्षा मन्त्रालयबीच तेस्रो चरणको वार्ता

भूतपूर्व गोर्खा र बेलायती रक्षा मन्त्रालयबीच तेस्रो चरणको वार्ता

  • शुक्रवार, पौष १ २०७९

  • 347
    SHARES

  • भूतपूर्व गोर्खा र बेलायती रक्षा मन्त्रालयबीच तेस्रो चरणको वार्ता

    काठमाडौं । भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा तेस्रो चरणको वार्ता भएको छ ।

    बिहीबार बिहान र दिउँसो गरी दुई सत्रमा झन्डै ५ घण्टा भएको वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको भूतपूर्व गोर्खाहरुले बताएका छन् ।

    लन्डनस्थित नेपाली राजदूतावास र संयुक्त अधिराज्य (यूके)को रक्षा मन्त्रालय एवं भूतपूर्व गोर्खाका प्रतिनिधिबीच प्राविधिक स्तरको तेस्रो चरणमा त्रिपक्षीय वार्ता भएको हो ।

    उक्त वार्ताको बिहानी सत्रमा भूतपूर्व गोर्खाहरुको औषधि उपचार, शिक्षा, रोजगारीलगायत अन्य कल्याणकारी विषय (वेलफेयर) र दिवा सत्रमा अघिल्लो चरणमा बाँकी रहेका पेन्सनसम्बन्धी विषयमा विस्तृत छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

    वार्तामा नेपाली पक्षले उठाएका माग सम्बन्धमा रक्षा मन्त्रालयका पदाधिकारीहरुले सूक्ष्म रूपमा चासो राखी आगामी दिनमा थप छलफलका लागि आफूहरू तयार रहेको बताएको वार्तामा सहभागी दूतावासका द्वितीय सचिव रामबाबु नेपालले जनाए ।

    अर्को वार्ता मितिबारे आफ्नो सरकारी संयन्त्रमार्फत छिट्टै जानकारी गराउने सहमति भएको पनि नेपालले जानकारी दिए । भूतपूर्व गोर्खाहरुका तर्फबाट मध्यस्तकर्ता मेजर रिटायर्ड जुदबहादुर गुरुङले वेलफेयर र पेन्सनका विषयमा महत्त्वपूर्ण छलफल भएको जनाए ।

    यसपटकको वार्तामा नेपालबाटै भर्चुअल सहभागिता जनाएका गुरुङले वार्ता सकारात्मक दिशातर्फ बढेको जनाउँदै बेलायती अधिकारीहरुले पेन्सन ‘नीति’ परिवर्तनका लागि थप अध्ययन गर्नुपर्ने भए पनि नीति कार्यान्वयन पक्षका केही कमजोरी भए सच्याउन कुनै समस्या नरहेको बताएका उल्लेख गरे ।

    उक्त छलफलमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार र द्वितीय सचिव रामबाबु नेपाल सहभागी थिए भने बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालय एवं सो अन्तर्गत विभिन्न निकायका पदाधिकारीहरु थिए ।

    भूतपूर्व गोर्खाहरुका तर्फबाट अवकासप्राप्त तीनजना गोर्खा मेजर जुदबहादुर गुरुङ, टिकेन्द्रदल देवान र उदयबहादुर गुरुङ एवं केशबहादुर गुरुङ तथा धर्मबहादुर तामाङ सहभागी थिए । भूतपूर्व गोर्खाहरुले गोरा सैनिक सरह समान पेन्सन र अन्य सेवा सुविधा पाउनुपर्ने अडानसहित लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।


    शुक्रवार, पौष १ २०७९०२:२१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij