काठमाडौं । आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो। आज काठमाडौंको माइतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताउनुभयो ।
उहाँले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरूप यो दिवस मनाइएको बताउनुभयो । उहाँले राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने बताउनुभयो ।
२०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो। सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको छ।