भीष्म लोध, बाँके । जिल्लामा आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ । चालु आर्थिक वर्षको पहिल्लोे दुई महिनामै जिल्लामा ११ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्याको प्रमुख कारण मानिस रोग रहेको मनोविदहरुको भनाइ छ । आत्महत्या गर्नेमध्ये ९० प्रतिशत् मानसिक रोगी हुने गरेको पाइएको छ ।
अहिलेका लागि प्रमुख कारण कोरोना भाइरसबाट सिर्जित समस्या पनि आत्महत्याको प्रमुख कारण रहेको प्रहरीको भनाइ छ । लामो लकडाउन (बन्दाबन्दी)का कारण सिर्जना भएको तनाव, आर्थिक संकट र घरेलु हिंसा आत्महत्याका कारण हुने गरेका छन् ।
त्यस्तै, उदासीनता, रक्सी र अन्य लागुऔषधको दुरुपयोग, दीर्घरोग, गरिबी, बेरोजगारी, मायामा धोका, यौन हिंसा, वैदेशिक रोजगारी तथा पढाइमा असफल जस्ता कारणले पनि मानिस आत्महत्याको तहमा पुग्ने गरेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार चालु आवको साउनमा ६ जना र भदौमा ५ जनाले आत्महत्या गरेका छन् ।
यो अवधिमा ६ जना पुरुष र ५ जना महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा एक १६ वर्षीय बालकसमेत रहेको बाँकेका प्रहरी प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो ।
बाँके प्रहरीका अनुसार जिल्लाको नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारीलगायतका क्षेत्रमा यो अवधिमा आत्महत्याका घटना देखिएको छ ।
आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस पनि हो । यसै सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुउचओ)ले निकालेको तथ्यांकअनुसार हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।
यसरी हेर्दा एक वर्षमा ७ लाख ८८ हजार ४०० अर्थात झण्डै ८ लाख मानिसले आत्महत्या गर्छन् ।
नेपालमा पनि आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा छ । प्रहरीको तथ्याङ्कअनुसार वार्षिक झण्डै ६ हजार मानिसले आत्महत्या गर्ने गरेका छन् ।