काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै लैजाने भएको छ । त्यसका लागि सरकारले अन्तर्राष्ट्रिय उडान संख्यासमेत थप्ने भएको हो ।
अन्तर्राष्ट्रिय उडानको संख्या बढाउने योजना कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा प्रस्ताव पठाइसकेको संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले जानकारी दिनुभएको छ । साथै, आन्तरिक उडान पनि सुचारु गर्न प्रस्ताव पठाएको उहाँको भनाइ छ ।
आर्थिक पत्रकार संघ (सेजन)ले आयोजना गरेको सेजन अर्थनीति बहसमा मन्त्री भट्टराइले उडान संख्या थप्ने र आन्तरिक उडान गर्ने तयारी गरिएको जानकारी गराउनुभएको हो ।
आन्तरिक उडान कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने पक्षमा सरकार रहेको उहाँको भनाइ छ । आन्तरिक उडान असोज १५ बाट खोल्ने तयारीमा सरकार रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।
हवाई सञ्चालकहरुले आन्तरिक उडान तत्काल खोल्न माग गर्दै आएका छन् भने सरकारले आन्तरिक हवाइ उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेकोमा मन्त्रीको भनाइले यो समय थप लम्बिने भएको हो ।