Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

इँटा उद्योगले चन्द्रागिरीका बासिन्दा आजित, अटेरी उद्योगीविरुद्ध आक्रामक बन्दै वडाध्यक्ष अधिकारी

इँटा उद्योगले चन्द्रागिरीका बासिन्दा आजित, अटेरी उद्योगीविरुद्ध आक्रामक बन्दै वडाध्यक्ष अधिकारी

  • बुधवार, मंसिर २१ २०७९

  • 681
    SHARES

  • इँटा उद्योगले चन्द्रागिरीका बासिन्दा आजित, अटेरी उद्योगीविरुद्ध आक्रामक बन्दै वडाध्यक्ष अधिकारी

    काठमाडौं । चन्द्रागिरी नगरपालिकाभित्र रहेका इँटा उद्योगको कालो धुँवाका कारण स्थानीय बासिन्दा आजित बनेका छन् । घनाबस्ती रहेको नगरपालिकाभित्र बिना मापदण्ड सञ्चालनमा आएका इँटा उद्योगले बसोबासमा समेत असर पारेका छन् ।

    चन्द्रगिरी नगरपालिकाकाले वातावरणमैत्री इँटा उद्योग सञ्चालन कार्यविधि २०७९ नै निर्माण गरेर पूराना उद्योगहरुलाई टनेल क्लिन प्रविधिमा जान भनेको छ । तर, केही उद्योगहरुले नगर र वडाको सूचनालाई समेत अटेर गरी हालसम्म इँटा उद्योग सञ्चालन गरिरहेको पाइएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १० मा अवस्थित पूर्णमान महर्जनले सञ्चालन गरेको भैरवनाथ इँटा उद्योगले नगरपालिकाको सूचनालाई अटेर गर्दै आएको पाइएको छ ।

    वडा नम्बर १० मा रहेको इँटा उद्योगको धेरै काम वडा नम्बर ९ को जमिनमा भइरहेको छ । स्थानीय सानो खोल्सालाई समेत थुनेर इँटा निर्माण गरिरहेको भैरवनाथ इँटा उद्योगलाई वडा नम्बर ९ का वडाध्यक्ष अच्यूत अधिकारीले आजपनि सुध्रिनका लागि अल्टिमेटम दिनुभएको छ । वडा नम्बर ९ को भूमि प्रयोग गरेर पुरानै प्रविधिमा इँटा निर्माण भइरहेकोले त्यसको धुलो धुँवाले पोल्ने समयमा स्थानीयको स्वास्थ्यमा असर पर्ने भन्दै वडाध्यक्ष अधिकारी त्यसलाई हटाउन सक्रिय हुनुभएको छ ।

    नगर र वडामा सञ्चालित उद्योगहरुलाई विस्थापित गर्ने रणनीति नभएपनि प्रविधिमैत्री नबन्दा स्थानीयको गुनासोका आधारमा एक्सन लिनु परेको वडाध्यक्ष अधिकारीको भनाइ छ । अधिकारीले भन्नुभयो, ‘बुधबार उद्योगको निरिक्षण गरेका छौँ, भोलि नगरपालिकालाई बोधार्थसहितको सूचना निकाल्ने तयारी छ यति गर्दापनि मानेन भने प्रहरी प्रशासन लगाएर ९ नम्बर वडाको जमिनका भएका इँटाहरु हटाइने छ ।’

    यसअघि वडा नम्बर ६ का वडाध्यक्ष सञ्जय सिग्देलको नेतृत्वमा गठित वातावरण तथा विपत समितिले भैरवनाथलगायतका इँटा उद्योगको मापदण्ड जाँच गरेको थियो । पूरानै प्रविधिबाट सञ्चालित उद्योगहरुले नागरिकको स्वास्थ्यमा निकै असर गरिरहेको समितिको निष्कर्ष थियो । नगरपालिकाले स्थानीय राजपत्रमा समेत सूचना प्रकाशित गरी नगरभित्रका नागरिकहरुको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको प्रत्याभूति गराई जोखिम न्यूनिकरण गर्नका निम्ति सदैव कटिवद्ध रहेको बताएको छ ।

    चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ मा रहेका केही इँटा उद्योगहरु मापदण्ड पूरा गर्न नसकेपछि बन्द भएका छन् । तर, केही उद्योगहरु भने विभिन्न बहाना बनाइ सञ्चालनमा रहेकाले त्यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउन अधिकारी जुट्नुभएको छ ।

    सर्वोच्च अदालतले उपत्यकाका रहेका इँटा उद्योगलाई विस्थापित गर्न भनेपनि हालसम्म विभिन्न बहानामा सञ्चालित रहेका छन् । पटक–पटक सूचना निकालेर जानकारी गराउँदा समेत इँटा उद्यागीहरुले अटेर गरिरहेका छन् ।

    317602506_832219681222968_3880930183111868839_n.jpg

    317312985_1084347772244233_1537950076668206808_n.jpg

     

     

     


    बुधवार, मंसिर २१ २०७९०५:१३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij