काठमाडौं। काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती छोड्न महानगरपालिकाले दिएको मंसिर ४ गतेसम्मको समय बितिसकेको छ । पटकपटक ताकेता गर्दापनि सुकुम्बासी बस्तीमा बसेकाहरुले नमानेपछि आज महानगरको नगरप्रहरी थापाथली पुगेको थियो ।
सामान्य तयारीमा गएको नगर प्रहरीमाथि सुकुम्बासी बस्तीमा रहेकाहरुले ढुंगामुढा प्रहार गरे, नगर प्रहरी प्रमुख राजु पाण्डेसहित करिब १४ जना प्रहरी घाइते भएका छन् । सुरक्षाका लागि नेपाल प्रहरी तैनाथ रहेतापनि उसले प्रतिकार गरेन ।
नगर प्रहरीमाथि आक्रमण गरेका सुकुम्बासीहरुले मेयर बालेन साहविरुद्ध नाराबाजी गरे र आफूहरुको व्यवस्थापन बिनै डोजर चलाउन खोजेको भन्दै आक्रोश पोखे ।
काठमाडौं शहरको मुटुमा रहेको थापाथलीमा विगत लामो समयदेखि बस्दै आएका सुकुम्बासीलाई हटाउन पटक–पटक प्रयास भएको छ तर हालसम्म सम्भव देखिएको छैन । महानगरले त्यो स्थानलाई बृहत्त उद्यान बनाउने अवधारणा अघि सारेपनि सुकुम्बासी हटाउन हम्मे परेको छ ।
उनीहरुको व्यवस्थापनमा पनि थप चुनौति देखिँदै गएको छ । महानगरपालिकासँग सोध्दा प्रवक्ता नविन मानन्धरले उचित जवाफ दिन चाहेनन् ।सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी हटाउन नमिल्ने उनीहरुका संघ सगठनको भनाइ रहेको छ ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीका अनुसार राज्यले सुकुम्बासीलाई सौतेनी व्यवहार गर्न नमिल्ने बताउनुभयो ।अहिले थापाथलीको संरचना भत्काउँदा ठूलो क्षति हुने भएकोले यसको उचित निकास खोज्नुपर्नेमा उहाँको जोड छ ।
सकुम्बासीका नाममा घरजग्गा भएकाहरुको सरकारले सुक्ष्म अध्ययन गर्न जरुरी देखिन्छ । जुन व्यक्ति जहाँबाट आएको छ सोही स्थानमा उसको उचित व्यवस्थापन गर्नुपर्दछ । सुकुम्बासीहरुले पनि राज्यको निर्णय र विकासको बाधक बन्न मिल्दैन । आम नागरिकजस्तै उनीहरुले यसै मुलुकमा थप मेहनत गरेर जिउनुपर्ने देखिन्छ ।