काठमाडौं । तनहुँमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जीपमा सवार अन्य सात जना घाइते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका– ५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।
चापाघाटबाट खाल्टेतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको बोलेरो रिसिङ गाउँपालिका– १ खाल्टेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका केहकिो दमौली अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएकालाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
आठजना यात्रु सवार जीप सडकबाट ७० मीटर तल देउली खोलाको किनारामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै, डोल्पामा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
त्रिपूरा सुन्दरी नगरपालिकाको खदाङबाट वडा नम्बर ५ को फुल्चीङ जाने क्रममा आज लु १ च ४२२९ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी नारायण रञ्जितकारका अनुसार घाइतेमध्ये चालक रामबहादुर रोकाया, लोकचन्द्र विक र नरबहादुर रोकायाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ