काठमाडौ
‘दधिराज सुवेदी पुरस्कार २०७९’ बांकेका वरिष्ठ कथाकार सनत रेग्मी र मोरङ का वरिष्ठ पत्रकार अनन्त राज न्यौपानेलाई प्रदान गरीने भएको छ ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ५१०००(एकाउन्न हजार) रुपैया राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार२०७९’ नेपाली भाषा साहित्यको क्षेत्रमा छ दशक भन्दाबढी योगदान दिएको कदरमा लागि बांकेका वरिष्ठ कथाकार सनत रेग्मीलाई दिने निर्णय भएको हो भने २५०००(पच्चीसहजार) रुपैया राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९’ पत्रकारिताको क्षेत्रमा तीनदशक बढी विशेष योगदान दिएको कदरमा मोरङका वरिष्ठ पत्रकार अनन्त राज न्यौपानेलाई प्रदान गर्ने निर्णय गरिएको हो ।
यस अघि उक्त पुरस्कार साहित्यकारहरू प्रा। डा।गोविन्दराज भट्टराई, प्रा।डा।अभि सुवेदी, प्रा।डा।माधवप्रसाद पोखरेल,डा।विष्णुविभु घिमिरे, एस्पी कोइराला र प्रा। चूडामणि बन्धुलाई र त्यसैगरी पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल र भूषण दाहाललाई प्रदान गरिएको थियो ।
समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू। पन्ध्र लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिंदै आएको छ । यस वर्षका पुरस्कारहरू आगामी मंसिर महिनामा एक समारोहको आयोजना गरि समर्पण गरिने छ ।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको महासचिव दिङ्लाली कान्छोले जानकारी दिनुभयो ।