Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

रोशनी-शरद हत्याकाण्डः नयाँ तथ्य खुलासा, आखिर के भएको रहेछ....

रोशनी-शरद हत्याकाण्डः नयाँ तथ्य खुलासा, आखिर के भएको रहेछ....

  • शनिवार, कार्तिक १९ २०७९

  • 439
    SHARES

  • रोशनी-शरद हत्याकाण्डः नयाँ तथ्य खुलासा, आखिर के भएको रहेछ....

    काठमाडौं । दाङका रोशनी महतरा र शरद आचार्य हत्याकाण्ड बँदेल मार्ने समूहबाट भएको तथ्य खुलेको छ ।

    उनीहरू दुवैको शव स्थानीय जंगलको चिरोमा एकै ठाउँमा असोज ३० गते माटोले पुरेको अवस्थामा फेला परेको थियो ।

    'तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको पुष्टि भयो, एक प्रहरी अधिकारीले भने, त्यसबारे सकभर आजै र नभए भोलिसम्म पत्रकार सम्मेलन गरी जानकारी दिनेछौँ।'

    घटनामा संलग्न दमारगाउँका चारजना पक्राउ परेका छन् । घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार पक्राउ परेकाहरूले करेन्टबाट उनीहरूको मृत्यु भइसकेपछि बोरामा हालेर शव चिरोमा फालेको र फरुवाले माटो खनेर पुरेको स्वीकार गरिसकेका छन् । त्यसपछि उनीहरूले शव व्यवस्थापनका लागि बोकेर लगेका बोराहरू उतै जलाएको प्रहरीलाई बताएका छन् ।

    गाउँकै चारजना व्यक्तिले बँदेल मार्नलाई भनेर रोशनीको घर नजिककैको कुखुरा फारमबाट बिजुली बत्तीको तार तानेर करेन्टको धराप बिछ्याएका थिए । सोही धरापमा परी रोशनी र शरदको मृत्यु भएको थियो । त्यसपछि घटना लुकाउन उनीहरूले ढुंगाले टाउकोलगायत शरीरका विभिन्न भागमा आक्रमण गरी शव व्यवस्थापन गरेको भन्ने खुलेको प्रहरीले बताएको छ ।

    रोशनी र शरद आपसमा प्रेममा थिए । त्यही कारण उनीहरू एकअर्कालाई भेट्न असोज २७ गते राति करिब सवा १० बजेतिर घरबाट निस्किएका थिए । त्यही क्रममा उनीहरूको विद्युतीय धरापमा परेर एकैसाथ मृत्यु भएको पक्राउ परेका चारजनाले बताएका छन् ।

    पक्राउ परेकाहरूको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिएको छ । योसँगै हेटौंडाका टिप्पर चालक सुवास थिङ र दमारगाउँ माइती घर रहेका सल्यानका सुशील थापा निर्दोष साबित भएको प्रहरीले बताएको छ ।

    यी दुई आपसमा मिल्ने साथी हुन् । अघिल्लो दिन मात्रै उनीहरूले आपसमा फोन सेटहरू साटासाट गरेका थिए । त्यही सेटमा भएको फोन नम्बर गल्तीवश सुवासले शरदकी मावली हजुरआमालाई डायल गरेको तथ्य खुलेको छ ।

    तर, प्रहरीको त्रासका कारण उनले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आएका थिए । त्यही आधारमा प्रहरीले अनुसन्धान गर्दै आएको थियो । मुद्दा चलाउने तयारी गरेको थियो ।

    अन्तिममा गाउँघरमै केही चर्चामा रहेका युवा र बयस्कहरूलाई निगरानीमा राखेको प्रहरीले आशंका लागेर सोधपुछ गर्दा उनीहरूको घटनामा संलग्नता पुष्टि भएको हो । त्यसपछि घटनाबारे तथ्य खुलेको हो ।


    शनिवार, कार्तिक १९ २०७९०४:१७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij