काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकाले बिहीबार(आज) सार्वजनिक बिदा दिएको छ ।
दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले आज सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताउनुभयो।
आज नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन् । त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्ने गर्दछ । यहाँ भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् ।
यसअघि हिजो पाटन नगरपालिका–२ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको थियो ।
तिहार सकिएसँगै बैतडीसहित सुदूर पहाडका शक्तीपीठ र मन्दिरमा जात्राको रौनक छाएको छ । यहाँ तिहारपछि १५ दिन जात्रा लाग्ने गर्दछ ।