Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

  • शनिवार, कार्तिक १२ २०७९

  • 336
    SHARES

  • छठ पर्वको दोस्रो दिन आज ‘खरना’

    काठमाडौं । छठ पर्वको आज दोस्रो दिन, खरना गरी मनाइँदै छ। शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो। छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ। यसदिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ।

    शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतातुले कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन्।

    यसवर्ष तिथिको घटबढले शुक्रबार तृतीया र चौथी दुवै परेको थियो। पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे। ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ। कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे।

    षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ। यसलाई ‘सँझियाघाट’ भनिन्छ। यसको भोलिपल्ट सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुने परम्परा छ।

    छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ। छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ।

    छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ। देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ।


    शनिवार, कार्तिक १२ २०७९०८:०९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij