Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

तिहार सुरु भएसँगै बढ्यो बजारमा चहलपहल

तिहार सुरु भएसँगै बढ्यो बजारमा चहलपहल

  • शनिवार, कार्तिक ५ २०७९

  • 462
    SHARES

  • तिहार सुरु भएसँगै बढ्यो बजारमा चहलपहल

    काठमाडौं । नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै काठमाडौंलगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ। तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड देखिएको हो।

    काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा सर्वासाधारणको चाप उल्लेख्य छ। काठमाडौंका भित्री सहरका गल्लीमासमेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाइएको छ।

    मखमली र सयपत्री फूलले राजधानीको बजार ढाकिएका देख्न सकिन्छ। बजार घुम्न जानेलाईसमेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ। तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन्।

    विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु असन, भोटाहिटी, इन्द्रचोक, न्यूरोडलगायतका ठाउँमा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको हो। लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ। त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ।

    यी क्षेत्र लगायत उपत्यकाका अन्य क्षेत्र र देशभरका बजारहरुमा पनि तिहारमा चाहिने सामान किन्नेहरुको चहलपहल सुरु भएको पाइन्छ। आजबाट विधिवत रुपमा यमपञ्चक सुरु भएको छ।

    आज धनतेरस पर्व पनि मनाइँदै छ। सुन, चाँदीका सामग्रीहरुको पूजा गरेर धनतेरस मनाइने गरिन्छ। आज बेलुका यमदीपदान सुरु गर्ने र भोलिबाट क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोरु तिहार र भाई टीका मनाउने गरिन्छ।


    शनिवार, कार्तिक ५ २०७९०२:५८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij