काठमाडौं । ललितपुरको ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रूपमा मात्र पूरा गरिने भएको छ ।
गुठी संस्थान, स्थानीय प्रशासन र सरोकारवालाको छलफलबाट भिडभाडविना नै जात्राको विधि पूरा गर्ने निर्णय गरेको हो ।
सो निर्णयसँगै बिहानैदेखि क्षमापुजा लगायतका प्रक्रिया अगाडि बढाइएको ज्यापू समाजका अध्यक्ष तथा पूर्वसांसद चन्द्र महर्जनले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो । यसअघि बिहीबार स्थानीय प्रशासनको सहमतिविना नै स्थानीयले रथयात्रालाई अगाडि बढाएपछि झडप भएको थियो ।
झडपपछि सरोकारवालाहरुका बीचमा कोरोना भाइरसको संक्रमणको खतरालाई ध्यान दिएर रथयात्रालाई भिडभाड नगरी विधिमा मात्रै सीमित गर्ने सहमति भएको हो ।
यसैबीच, ललितपुरमा आज कर्फ्यू लगाइएको छ । बिहान ४ बजेदेखि सुरु भएको कर्फ्यू राति १० बजेसम्म रहने भएको हो ।
ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस् भन्नका लागि आफूहरुले कर्फ्यू लगाउने निर्णय गरेको जानकारी दिनुभएको छ ।