काठमाडौं । नयाँ राइड सेयरिङ एप ‘जाऊँ गुरु’ सुरु भएको छ । नेपालमा बढ्दो रुपमा रहेको ‘राइड सेयर एप’ को भीडमा जाऊँ गुरु प्रा.ली.ले आइतबार काठमाडौँ स्थित होटेल र्याडिसनमा एक कार्यक्रमकाबीच ‘जाऊँ गुरु’ को औपचारिक उद्घाटन गरिएको हो ।
यस कम्पनीको लगानीकर्तामा तीन युवाहरू इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालले सामूहिक लगानी गरेका छन् । प्रवासमा रहेका लिङ्देन र लिम्बु लण्डनमा बसेर व्यापार व्यवसाय र समाजसेवामा आबद्ध छन् भने अर्यालले यूथ पार्लियामेन्ट नेपाल संस्थाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रियाकलाप युवाका सवालका विषयमा गर्दै आइरहेका छन् । जाऊँ गुरु एपका प्रयोगकर्ताका लागि लोकेसन शेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्ती लगायतका अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४ घण्टा कल सेन्टर सेवा लगायतका सुविधाहरू रहेका छन् ।
मोटरसाइकल र ट्याक्सी राइडर यस संस्था/एपसँग आबद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्नु, चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बीमा, राइडर वा अरू जो कोहीले रिफर गरेबापत कमिसन पाउने व्यवस्था, आपत्कालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि राखिएको छ ।
नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरूले मोटरसाइकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाऊँ गुरुले भने त्यसका अलावा बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्याङ्कर र जीप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने छ । यससँगै अव हाललाई काठमाडौंमा बसोबास गर्नेहरूलाई कोठा सर्नका लागि मिनी ट्रक, बाइकको डेलिभरी, खानेपानीको आपूर्ति र लामो दुरीका लागि जीप भाडामा लिन सकिनेछ । नेपालमै पहिलो पूर्ण सवारी सुविधा भएको एपले यात्रुहरूको यात्रालाई सहज त बनाउँछ नै यसमा आबद्ध ‘राइडर’ हरूलाई आफ्नो सवारीबाट आय आर्जन गर्ने अवसर समेत दिनेछ ।
यस एपले दैनिक यात्रालाई सहज बनाउन फरक सुविधाका साथ सार्वजनिक गर्न पाउँदा आफूहरूलाई खुसी लागेको जाऊँ गुरुका अध्यक्ष रहेका इन्द्रहाङ लिङ्देनले जानकारी दिए । अहिले काठमाडौँ उपत्यकामा मात्र सेवा उपलब्ध भएको र आगामी दिनमा मोफसलमा पनि बिस्तार गरिने लिङ्देनको भनाइ छ । यस्तै उनले अन्य राइड सेयरिङ एपको तुलनामा यो निकै सलभ र सुलभ भएको समेत जानकारी दिए । प्रवासबाट नेपालमा आएर आफ्नै नेपालीहरूमाझ नै केही गरौं भन्ने उद्देश्यले नेपालीहरूको दैनिकीलाई सहज बनाउन जाऊँ गुरु सुरु गरिएको जाऊँ गुरुको भाइस चेयरम्यान तथा चिफ अपेटिङ अफिसर खुसी लिम्बुले बताए । नेपाली युवाहरूले नेपालका लागि नेपालमै बनाइएको एप भएकाले यस एप प्रयोगकर्ता र राइडरका लागि समेत एप प्रयोग गर्न सहज हुने अपेक्षा कम्पनीले लिएको छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. बद्री केसीले सामान्य बोलीचालीको भाषामा सवारी चालकलाई गुरु भन्ने गरिएको र त्यही शब्दबाट एपको निर्माण गरिएकोले नामाकरण निकै राम्रो भएको भन्दै विदेशमा सिकेर नेपालमा लगानी गर्नेहरू बढिरहेको बेलामा प्रवासी नेपालीको समूहले सुरु गरेको यस एपले थप एक इट्टा थप्ने काम गरुन् भनी शुभकामना समेत दिए ।
अभिनेत्री करिश्मा मानन्धर र अभिनेता दयाहाङ राईले नेपालीले नेपालमै बनेको एप भएकाले सबैलाई प्रयोग गर्न सुझाव दिदैं आफूहरूले पनि सदैव उक्त एपको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चलचित्र निर्माता एवं कवि उपेन्द्र सुब्बाले पछिल्लो समय अन्य एपहरू अलि अव्यवहारिक, झण्झटिलो र महँगो भइरहेको बेलामा जाऊँ गुरुले सस्तो, सुलभ र यात्रुहरूलाई सहज सेवा दिनुपर्नेमा जोड दिए ।