काठमाडौं । नेपाली संस्कृतिका धरोहर, शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले एक युगको अन्त्य भएको छ ।
१०३ वर्षमा स्वर्गारोहण भएको जोशीलाई नेपाली समाजले सधैँ जीवन्त रुपमा सम्झिरहनेछ । उहाँको वि. सं. १९७७ वैशाख ३० मा बखुम्बहाल, ललितपुरमा पिता शंकर जोशी र माता राजकुमारी जोशीको कोखबाट जन्म भएको थियो । सत्यमोहन जोशीले हाम्रो लोक संस्कृतिका लागि पहिलो पटक वि. सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रो पटक वि. सं. २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि संयुक्त रूपमा तेस्रो पटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गर्नुभयो ।
जोशीले त्रिचन्द्र कलेजबाट बि.ए.सम्म अध्ययन गर्नुभएको थियो । जोशी वि.सं. २०१५ मा पुरातत्व र संस्कृति विभागको पहिलो निर्देशक बन्नुभएको थियो ।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागिपरेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो ।
नेपाल सरकारले पनि उहाँलाई उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उहाँका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।
जोशीलाई संस्कृतिविदहरुले पनि शालीन, भद्र, संस्कृति रक्षाका अध्येयताका रुपमा लिएका छन् । संस्कृतिविद् प्रेम खत्री, विणा पौडेल र सोम खतिवडाले जोशीको योगदान अहिलेको पुस्ताका लागि प्रेरक बन्ने बताउनुभयो ।
शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलले ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याउनुभएको छ । नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट वाङ्मय शताब्दी पुरुष जोशीको तस्बीर अंकित चाँदीको सिक्का निष्कासन गरिएको छ ।
दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयको १० हजार थान दरको सिक्कामा एकातिर जोशीको तस्बीर छ भने अर्कोतिर सगरमाथाको तस्बीर रहेको छ ।।