काठमाडौं । फिरौती रकम नदिँदा विराटनगरमा एक युवकको हत्या भएको छ । विराटनगरस्थित बसपार्कको एक होटेलमा सिराहा गोलबजार घर भएका १८ वर्षे अंशु सदाको हत्या भएको हो ।
उनलाई अपहरण गरेर विराटनगर ल्याई स्थानीय न्यू अप्सरा गेष्ट हाउसमा हत्या भएको प्रहरीले जनाएको छ । कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ । असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखिएको अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
एक लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताएका छन् । सदा सामान्य किसान परिवारका हुन् । उनको असोज २७ गते बेलुका हत्या भएको एसपी कोइरालाले बताउनुभयो । उनको शव गेस्टहाउसको बक्सपलङभित्र फेला परेको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन् । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमै छ ।